काठमाडौं - यस वर्ष २ महिनामा बाढी पहिरो लगायत विपदबाट एक सय ६५ जनाको मृत्यु भएको छ । मनसुन भित्रिए यता गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका कारण ५१ जना अझै बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो डाटा मंगलबार अपराह्न ३ बजेसम्मको हो सोमबार अपराह्न ३ बजेदेखि मंगलबार अपराह्न ३ बजेसम्ममा मात्रै पनि पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० मा गएको पहिरोका कारण ७ जनाको मृत्यु भएको थियो । गुल्मीको मुसिकोट नगरपालिका–१ मा गएको पहिरोले चार जनाको मृत्यु भएको हो । प्रहरीको तथ्यांकअनुसार पहिरोबाट १२ जना घाइते र चार जना बेपत्ता थिए । बेपत्ताहरू चारै जना बागलुङकै थिए । जसमध्ये तीन वर्षीय आरूष थापाको बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्यको खोजी भइरहेको छ । यस्तै गरी बाढी, पहिरो लगायतका विपद्मा परी जेठ यता काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५० जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६५ जनाको मृत्यु भएको हो । साथै १ सय ९८ जना घाइते भएका भएका छन् । घाइतेमध्ये काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना रहेका छन् । उनीहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । यस्तै १ सय १० जनाको उद्धार गरिएको छ । उद्धार भएकाहरु काठमाडौं उपत्यकाका २८ जना, कोशी प्रदेशका ४९ जना, बागमती प्रदेशका १२ जना, गण्डकी प्रदेशका १४ जना, कर्णाली प्रदेशका२ जना र सुदूरपश्चिम प्रदेशका ५ जना छन् । यस्तै बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । यस्तै बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६४ वटा घर, ९९ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ५० वटा पशु चौपाय मरेका छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ५९ घर परिवार विस्थापित भएका छन् ।