मंसिर २६,२०८१ / ०९ : १६ अपरान्ह / 2024-12-11 09:16 pm
      • param ad
      • furniture
      • veera Incorporation

      देशका विभिन्न स्थानहरूमा वर्षाका कारण जल स्तरमा वृद्धि : मौसम महाशाखाले सतर्क रहन आग्रह

      - ४ महिना अगाडि
      श्रावण २२,२०८१

      काठमाण्डौ - नेपालका विभिन्न स्थानहरूमा अहिले मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । विशेषगरी कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

      गएको रातदेखि काठमाण्डौ उपत्यकामा पनि ठूलो वर्षा भइरहेको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्दै गर्दा देशका धेरै ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा, सप्तरीको रुपनी बजारमा १ सय ८६.६ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सबैभन्दा उच्च मापन हो ।   

      मोरङको हरैचा, सिन्धुपाल्चोकको बाहुनेपाटी, चितवनको शक्तिखोर, उदयपुरको मुर्कुची बजार, सुनसरीको धरान, महोत्तरीको गौशाला, धनुषाको तुल्सी, ललितपुरको गोदावरी, र म्याग्दीको मुनालगायतका जल मापन केन्द्रहरूमा पनि ठूलो वर्षा भएको छ ।

      भोलिसम्म देशका केही स्थानमा अत्यधिक वर्षा हुने अपेक्षा गरिएको छ । आज दिउँसो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अतिदेखि धेरै ठूलो वर्षाको सम्भावना छ । विशेषगरी रातको समयमा वर्षा अझै बढ्ने अनुमान महाशाखाले गरेको छ ।

      महाशाखाले सतर्क रहन र बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्न आग्रह गरेको छ । यसअघि नै जारी गरिएको विशेष बुलेटिनमा भोलिसम्म मनसुन सक्रिय रहने जानकारी दिइएको छ । 

      काठमाण्डौ उपत्यकाका नदी र खोलामा जल सतह बढिरहेको छ । यद्यपि हाल जल सतह सतर्कता तहभन्दा तलै छ, उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, र सुनसरीका विभिन्न ठाउँहरूमा पनि ठूलो वर्षा भइरहेको छ ।

      मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रमा जल सतह सतर्कता तहको आसपास पुगेको छ । नदी तटीय क्षेत्रमा आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, सप्तरीको मौली खोला र खाडो खोला लगायत अन्य साना खोलामा बहाव बढ्ने भएकाले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।

        सम्बन्धित समाचारहरु