‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइदै छ । आज असार १५ का दिन असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ ।
नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।
असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।
दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ ।








