विराटनगर , कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरेका छन् ।
बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरेका हुन । उनले सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् ।
आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै उनले आफूलाई विश्वासको मत मत नदिए नदिनेहरुप्रति नै अविश्वास पैदा हुने बताए ।
‘तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुप¥यो’ उनले भने, ‘सबैथोक ठीक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ ।’
‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गरे ।
प्रदेश संरचनालाई मुखै देखाउन नसक्ने गरी बदनाम गर्ने प्रयास गरिएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसप्रति विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे ।
उनले केही महिनाभित्र पहिचान पक्षधरको माग सम्बोधन गर्न सकिने बताए । उनले अघिल्लो सरकारका कारण आगामी आर्थिक वर्षमा बहुवर्षीय ठेक्काका कार्यक्रमहरु सञ्चालन गर्न नै नसक्ने अवस्थामा पुगेको मुख्यमन्त्री कार्कीले बताए । उनले प्रक्रिया नपु¥याई अघिल्लो सरकारले लगाएको ठेक्काको रकम भुक्तानी गर्न पनि नसकेको बताए ।








