काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।
मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका थिए।
योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्री सहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्री सहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।