असार १४,२०७९ / ०८ : ४६ अपरान्ह / 2022-06-28 08:46 pm

        नारायणगढ–बुटवल सडक विस्तारको काम सुस्त

        - एक हप्ता अगाडि
        फागुन ३०,२०७८

        राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले  अझै गति लिन सकेको छैन ।  सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो ।  

        नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो ।  तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको उनले जानकारी दिए । 

        ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायतका समस्याले विस्तारमा ढिलाइ भएको जनाइएको छ । 

        त्यसैगरी  खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्सातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या रहेको उनको भनाइ छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो सक्न मजदुरको सङ्ख्या बढाएर काम गर्न निर्देशन दिएको बताए । 

        उनले सबै ठाउँमा एकैपटक काम गर्नभन्दा सानो सानो क्षेत्रमा काम सक्दै अगाडि बढ्न निर्देशन दिएको बताए । सो सडकखण्ड विस्तारको काममा अहिले दैनिक झण्डै सातसयको हाराहारीमा मजदुर खटिएको इन्जिनियर दिष्टीले जानकारी दिए । 

        सो खण्डमा पर्ने सात साना पक्की पुल (माइनर ब्रीज) सञ्चालनको अन्तिम तयारीमा रहेको उल्लेख गर्दै उनले पुल सञ्चालनमा आएसँगै यात्रामा केही सहज हुने बताए । सडकखण्डको सात वटा पुल निर्माण सकेर अहिले माटो भर्ने काम चलिरहेको छ । 

        सडकको पूर्वी खण्डअन्तर्गत २२ माइनर ब्रीज (साना पुल) निर्माण हुने र अहिले १५ पुल निर्माणाधीन अवस्थामा रहेका उनले जानकारी दिए ।

        प्रमुख दिष्टीका अनुसार मध्यबिन्दुको चोरमारा र अरुणखोला जङ्गल क्षेत्रमा सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने र पुल निर्माणको काम सुरु भएको छ । दाउन्ने पहाडको माटो कटान गर्ने काम पनि सञ्चालन भइरहको छ  । सडक विस्तारका लागि मजदुरसँगै २१३  औजार उपकरण प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।

        करिब एक घण्टामा पार गरिने नारायणगढ बुटवल सडकको पूर्वी खण्ड विस्तारको काम ढिला हुँदा पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । निर्माणाधीन सडकमा उड्ने धुलोका कारण स्थानीय तथा यात्रुले निकै सास्ती खेप्नुपरेको छ । करिब ६५ किलोमिटर पूर्वी खण्डमध्ये १७.६ किलोमिटर छ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड)मा विस्तार हुनेछ ।

        सडक विस्तार आयोजनाको म्याद आगामी साउन २२ मा सकिँदैछ । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । 

        एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको पूर्वी खण्ड नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

          सम्बन्धित समाचारहरु