नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष बनेका हुन् ।
ओलीले उद्घाटन समारोहमै बस्नेतलाई दोहोर्याउने संकेत गरेका थिए । ‘अहिलेको कमिटीले राम्रोसँग काम गर्न पाएको छैन । त्यसका धेरै कारण छन्,’ ओलीले भनेका थिए, ‘यहाँबाट साथीहरुले एकताको सन्देश दिनुहुनेछ । मिलेर कमिटी बनाउनुहोला ।’उनले बस्नेत रुचाएपछि चौतारीका इन्चार्ज तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै जिल्लाका पाण्डेलाई सहमत गराए । धेरैले गुरुङको समर्थन पाण्डेलाई हुने र पोखरा महाधिवेसनबाट पाण्डे नै अध्यक्ष हुने आँकलन गरेका थिए ।
प्रतिनिधिसमेत निर्वाचनबाटै भए पनि नेतृत्व फेर्ने पक्षमा थिए । तर, मतदाताको मनोभावना विपरित टिका लगाएर नेतृत्व टुंग्याइएको छ । उनीसहित पदाधिकारीको टुंगो लागेको निर्वाचन कमिटीले जनाएको छ ।
उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो ।
अध्यक्षमा चार जनाको दावी थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दावी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएका छन् ।