काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि घटनास्थलमै एक जनाको मृत्यु भएको र अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
गएराति सिरहाको बरियारपट्टीबाट काठमाण्डौको लागि छुटेको ना ७ ख ७५३ नम्बरको रात्रि बसले ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सर्लाहीका ईश्वरपुर नगरपालिका– १२, घर भएका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्कालाई उपचारको लागि राति नै वीरगञ्ज पठाइएको छ भने बस पल्टिँदा घाइते भएका १२ जना यात्रुको लालबन्दीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।








