काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सदस्य मोहना अन्सारीको ट्वीटप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निवर्तमान सांसद सरिता गिरीका पक्षमा आयोग सदस्य मोहना अन्सारीबाट सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले गिरीमाथिको कारबाही संविधान, कानुन र दलको विधानअनुरूप रहेकाले अन्सारीको अभिव्यक्तिलाइ लिएर भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।
अन्सारीले मंगलबार ट्विटरमा समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीमाथि आफ्नो विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कारबाही गर्ने विषयमा सो कारबाहीलाई खेदजनक भएको टिप्पणी गरेकी थिइन् ।
अध्यक्ष शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानविन प्रतिवेदन’ भनी दलको अधिकारलाई निस्तेज पार्ने गरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्छ ।’









