डोल्पा, गत जेठ २० गते डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका वडा न. ३ निवासी ५८ वर्षीय पुरुषको होम क्वारेन्टाइनमै मृत्यु भएको र उनकोे स्वाब परीक्षण गर्दा पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
उनको अस्थायी बसोबास सुर्खेतमा रहेको बताएको छ । गएको जेठ १६ गते डोल्पा घरमा गई होम क्वारेन्टाइनमा बसेका थिए । उहाँको जेठ २० गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । उनको जेठ २२ गते स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको थियो
प्रतिष्ठानले विज्ञप्तिमार्फत घटनास्थल भौगोलिक दूरीका हिसाबले टाढा भएकाले त्यहाँका स्थानीयको समन्वयमा अन्य सम्पर्कको खोजी गरिने बताएको छ । अब डोल्पाको ५८ वर्षीय पुरुषको यो मृत्युसहित कर्णालीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सुर्खेतमा एक र दैलेखमा एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरिएको छ ।








