सुर्खेत, क्वारेन्टाइनबाट घर फर्केपछि बिहिबार मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो ।
बिहीबार बिहान करिव पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।
उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताए । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिए ।
जेठ ९ गते भारतको मुम्वइबाट गाउँ फर्किएका उनी १४ पञ्चपुरी नगरपालिका वडा नं–९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनको अवधि पुरा भएपछि बुधबार साँझ उनीसहित ६ जनालाई थप सात दिन होम क्वारेन्टाइनमा बस्न भनेर घर फर्काइएको थियो ।
क्वारेन्टाइस्थलबाट रातको करिव ११ बजे गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो । पञ्चपुरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने सर्तका घर पठाइएको थियो ।
यसअघि हिजो मात्रै कोरोनाबाट नेपालमा १० औं व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको थियो । पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका थिए । योसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एकरएक जनाको मृत्यु भइसकेको छ ।








