काठमाण्डौ । वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो ।
ती तीनजना कोरोना संक्रमित भारतीय नागरिक भने हिजै निको भएकाले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएका छन् ।