कार्तिक ३०,२०७६ / ०३ : ३६ पूर्वान्ह / 2019-11-16 03:36 am

        आज दशैको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै

        - एक हप्ता अगाडि
        असोज १६,२०७६

         काठमाडौं, घटस्थापनादेखि विधिवत रुपमा शुरु भएको दशैंको पाँचौ दिन आज मुलुकभरका शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

        शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन्। जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ । 

        उनलाई हामी क्रियात्मक ज्ञान अथवा सही ज्ञानबाट प्रेरित क्रिया, कर्म समेत भन्न सक्दछौं । प्रायः हामी भन्ने गर्दछौं कि ब्रह्म सर्वत्र एवं सर्वव्यापी छन् । तर, हामीसामू कुनै चुनौतीहरु आउँछ भने त्यतिबेला हामीलाई क्रियात्मक हुनु आवश्यक हुन्छ । त्यतिबेला हामीभित्र रहेको ब्रह्मले नै क्रियात्मक हुन सुझाव दिने गर्दछ । हामी जतिबेला सही एवं व्यवहारिक ज्ञानबाट लिप्त हुन्छौं त्यतिबेला हामीभित्र स्कन्द तत्वको उदय हुन्छ । देवी स्कन्दमाता पनि यही व्यवहारिक ज्ञानकी स्रोत हुन् । स्कन्द तत्व देवीको एउटा अर्को स्वरुप मात्र हो ।

        कतिपय अवस्थामा हामीसँग ज्ञान त हुन्छ । तर, त्यो ज्ञानको प्रयोजन वा क्रियात्मक प्रयोग भएको पाईंदैन । तर, कतै हामी सैद्धान्तिक ज्ञानको क्रियात्मक प्रयोग तत्कालै गरेको पाउँछौं । हामी विद्यालयमा पढेको ज्ञानलाई जसरी दैनिक जीवनमा प्रयोगमा ल्याउने गर्दछौं । हामीले सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई जसरी व्यवहारमा उतार्ने गर्दछौं त्यहाँ पनि स्कन्द तत्व भेटिन्छ । त्यसैले स्कन्दमाता सही व्यवहारिक ज्ञान र क्रियाकी प्रतीक हुन् । हामीले यी देवीको पूजासँगै यो विषयलाई ध्यान दिनु पर्दछ

        चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ ।

        प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।

        देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिँदैछ ।राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली लगायतका मन्दिर र शक्तिपीठहरुमा पूजा गर्न भक्तजनहरुको घुँइचो लागेको छ । 

          सम्बन्धित समाचारहरु