कार्तिक ३०,२०७६ / ०३ : ३५ पूर्वान्ह / 2019-11-16 03:35 am

        दशैंको चौथो दिन कुष्माण्डा भवानीको पूजा गरिँदै

        - एक हप्ता अगाडि
        असोज १५,२०७६

        काठमाडौं, हिन्दु नेपालीहरुको महान चाड दशैंको चौथो दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको चौथो रुप कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा आज पनि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

        प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।

        कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ ।

        यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

        कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

        राजधानीका गृहेश्वरी दक्षिणकाली नक्साल भगवती भद्रकाली नेपालगंजको बागेश्वरी सप्तरीको छिन्नमस्ता धरानको दन्तकाली पोखराको विन्धवासिनी डोटीको शैलेश्वरी बाग्लुङको कालिका गोरखाको गोरखकाली मकवानपुरको चुरियामाई र भुटनदेवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।

         

          सम्बन्धित समाचारहरु