काठमाडौं , असार ३१ गते मङ्गलबार शुक्ल पूर्णिमाका दिन खण्डग्रास अर्थात आधा चन्द्रमा ढाक्ने चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
ग्रहणले राति १ बजेर ४६ मिनेटदेखि आग्नेय कोण अथवा पूर्व र दक्षिणको बीचबाट स्पर्श गर्ने समितिले जनाएको छ । सवा ३ बजे ग्रहणको मध्यकाल हुनेछ। पौने ५ मा मोक्षकाल अर्थात् ग्रहण सकिनेछ ।
कुन राशीका लागि कस्तो ?
उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएको पञ्चाङ्गमा उल्लेख छ।
त्यस्तै कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
के गर्न हुन्छ , के गर्न हुँदैन ?
ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धार्मिक विश्वास छ । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । असार ३१ गते दिउँसो ४ बजेर ४६ मिनेटदेखि बालक, वृद्ध र बिरामी बाहेकलाई शास्त्रीय मान्यताअनुसार भोजन निषेध गरिएको छ।








