काठमाडौं, ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ। रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको थियो। त्यसको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज देखाउन लागिएको हो।
उक्त पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ। भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको छ ।
आइतबार बिहान ८ बजे बुंगमतीबाट मच्छिन्द्रनाथको भोटो जावलाखेल ल्याइनेछ। आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ। भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै भोटो पुर्याइने संस्थानले जनाएको छ।
सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मतीमा राखिने परम्परा छ भने हरेक वर्ष यहाँ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ। यसका लागि पाटनको जावलाखेलबाट रथ तानी बुङ्मती, जावलाखेलमा ल्याइन्छ।








