काठमाडौं, धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन्। चढाउँछन् पनि। तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन्।
पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको छ। २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन। २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ को सुन पनि अभिलेखमा नभएको अन्नपूर्ण पोस्टमा खबर छ ।
सुन मूल ढुकुटीमा राख्ने गरिन्छ। त्यसमा लेखिएजति छ/छैन पनि खुल्दैन। सर्वोच्च अदालतको २०६६ पुस २७ को परमादेशका कारण यसलाई खोलेर हेर्न मिल्दैन।
पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले बुधबार पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई बुझाएको प्रतिवेदनमा मुचुल्का भए पनि सुन नभएको देखिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा गठन गरेको उक्त समितिले ६२४ पृष्ठको प्रतिवेदन तयार पारेको छ। त्यसमा पशुपतिको सुनलगायत चल–अचल सम्पत्ति ठूलो मात्रामा यताउता पारिएको देखाइएको छ।
समितिले खोजमा २०२० मंसिर ५ गते पहिलोपटक पशुपतिनाथलाई सुन चढाइएको अभिलेख भेट्टाएको छ। पहिलोपटक ३ तोला ३ मासा ७ लाल सुन अर्पण गरिएको थियो। यसलगत्तै मंसिर १५ गते ९ तोला ८ मासा ९ लाल सुन मन्दिरमा चढाइएको थियो। यसपछि २०२१ देखि २०२६ सालसम्म कसैले पनि पशुपतिनाथमा सुन चढाएको अभिलेख नदेखिएको संयोजक थापाले जानकारी दिए।








