काठमान्डौ, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पवित्र वेदव्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्व ओमकार तथा हिन्दू महामिलन पर्वमा आज मन्त्री अधिकारीले व्यासभूमिलाई अन्तराष्ट्रिय स्तरसम्म परिचित गराउँदै पूर्वीय दर्शनबाट प्रभावित हुने मानिसलाई यहाँ आउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन् ।
मन्त्री अधिकारीले भने, “ व्यासको महिमालाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउँदै यसलाई एउटा धार्मिक पर्यटनको केन्द्र बनाउनेतर्फ जनस्तरबाट लाग्नुपर्छ । त्यसमा सङ्घीय सरकारको साथ र सहयोग रहन्छ ।” उनले व्यासभूमिलाई गुरुयोजनानुसार विकास गर्नुपर्नेमा जोड दिए । धार्मिकस्थल र प्राचीन सम्पदाको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताउँदै उनले त्यसकै माध्यमबाट आध्यात्मिक जागरण सिर्जना गर्न सकिने बताए ।
कात्तिक १ देखि शुरु भएको पर्व ३० गतेसम्म सञ्चालन हुनेछ । पर्वमा देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिएका छन् ।








