तनहुँ, तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुुरु भएको छ । मन्दिर क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन रकम सङ्कलन गर्ने उद्देश्यले ‘तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति’को आयोजनामा धार्मिक महोत्सव सुरु भएको हो ।
महोत्सव शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने बताए । गण्डकी प्रदेश सांसद आशा कोइरालाले मन्दिरको विकासका लागि सबै स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्ने गरिएको बताए ।
असोज ३० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा रु २५ लाख सङ्कलन गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए ।उनका अनुसार महोत्सवको पहिलो दिनमै रु दुई लाख ९५ हजार ३३८ सङ्कलन भएको छ । धार्मिक महोत्सवबाट सङ्कलित रकमले मन्दिरको विकासमा खर्च गरिने उनले जानकारी दिए । उक्त महोत्सवमा सामूहिक कालसर्प योगशान्ति, चौरासी पूजा, सामूहिक ब्रतवन्ध, ग्रहशान्ति तथा लाखबत्ती बाल्ने कार्यक्रमसमेत छ ।








