नुवाकोट, भूकम्पबाट ध्बस्त भएको बनदेबी मन्दिरको पुननिर्माणको लागि नुवाकोटका नागरिक जुटेका छन् । बिदुर नगरपालिका वडा नम्बर २ मा रहेको आस्थाको केन्द्र बनदेबी मन्दिरको सरोकारवाला निकायबाट लामो समयसम्म पनि पुननिर्माण हुन सकेको थिएन् । अहिले स्थानीय नागरिकहरु समिति नै बनाएर मन्दिरको पुननिर्माणमा जुटेका छन् । नुवाकोटको ऐतिहासिक पहिचान बोकेको मन्दिरको पुननिर्माणका लागि वनदेवी मन्दिर हाम्रो सम्पदा समिति गठन गरी स्थानीयहरु एकजुट भएका छन् । भूकम्पका कारण क्षतिग्रस्त भएको मन्दिरको पुनःनिर्माणमा स्थानीयले सहयोग संकलन गरी पुनःनिर्माण सुरु गरेका छन्् ।
मन्दिर परिसरमा रहेको पार्टी पौवा भग्नावशेषको रुपमा रहेको छ । सांस्कृतिक धरोहरको रुपमा रहेको मन्दिर जीर्ण हुँदा पनि सम्बन्धित निकायले संरक्षणमा ध्यान नदिएकोले स्थानीयको गुनासो रहेको छ । मन्दिर संरक्षणको लागि संरचना,पार्टी निर्माण, खानेपानी योजना, प्रवेशद्वार निर्माण, मन्दिर जाने पैदलमार्ग सुधार, भौतिक सुविधा लगायतका गुरुयोजनाको खाका बनाएको वनदेवी मन्दिर हाम्रो सम्पदा समितिका अध्यक्ष ठाकुरप्रसाद खतिवडाले बताए ।
भग्नाबशेषमा रुपान्तरण भएको मन्दिरलाई पूर्ववत स्वरुपमा ल्याउन सबै नागरिकहरुको आर्थिक तथा प्राबिधिक सहयोग गर्न समितिले आग्रह गरेको छ । मन्दिर पुननिर्मााणमा श्रीनाथ गण देवीघाटमा रहेका नेपाली सेनाहरुले समेत सक्रिय सहभागिता जनाइरहेका छन् ।पछिल्लो समय बनदेवी मन्दिरमा रहेको गुठी जग्गालाई रैतानी बनाउँदै स्थानीयलाई नै जिम्मा दिएका कारण मन्दिरको संरक्षणमा चुनौति देखिएको छ ।








