भक्तपुर, मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्नुभएको छ । उहाँले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका छन् ।
विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उहाँले हजाराँै मानिसको अगाडि जिब्रो छेड्नु भएको हो । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने चलन छ । ‘चेंया पुन्हिया मेय प्वा ः खनेगु’ जात्रा व्यवस्थापन समितिको संयोजनमा उनले जिब्रो छेडेका हुन् । जिब्रो छेड्नु अघि थिमी लाय्कुका नायो पमाहरु गई हनुमानढोका लाय्कु (दरबार)बाट राजाको चिनो (खड्ग) लिएर आएको केहीबेर पछि जिब्रो छेडिएको थियो ।
मङ्गलबार दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघिपछि राखी जिब्रो छेडाउने बालकरामले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय्अर्थात् महाद्वीप बोकेर नगरपरिक्रमा गरेका थिए । जिब्रो छेडाएर नगरपरिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाडेपछि जात्रा सम्पन्न भएको हो । विगतमा यस दिन एकैपटक २७ जनासम्मले जिब्रो छेडाएको भेटिन्छ । उक्त जात्रालाई धेरै वर्ष पहिला पशुपति, गुह्ेश्वरीदेखि चाँगुनारायणसम्म लैजाने गरे पनि अहिले भने थिमी विभिन्न टोल घुमाउने गरेको समितिका सचिव हरिसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।
छेडाएर प्वाल बनेको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने जनविश्वास छ । जिब्रो छेडाउँदा दैवी शक्ति प्राप्त हुनेसमेत विश्वास रहीआएको छ
स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए । यस वर्ष आफ्ना पिताको आशोच बारेकाले वीरेन्द्रभक्तले जिब्रो छेड्न नहुने भएपछि बालकरामले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।
किम्बदन्तीअनुसार प्राचीनकालमा भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा)ले थिमीका बासिन्दालाई धेरै दुःख दिए ।
यिनीहरुलाई तान्त्रिक विधिबाट पक्रेर जिब्रो छेडी नगर परिक्रमा गरेपछि दुःख दिन छोडेको र यो जात्रा सञ्चालन गरेपछि देशमा भूतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्पको भय नहुने जनविश्वास रहेको २०६३ मा जिब्रो छेडाउनु भएका कृष्ण नानिचा श्रेष्ठ बताउनुहुन्छ । जिब्रो छेडाउने व्यक्तिले आठ दिनअघिदेखि बालकुमारी मन्दिरमा ‘मु पूजा’ (मन्दिरको चारैतिर पर्दाले छोपेर गर्ने पूजा) गर्ने प्रचलन छ । आठ दिन अघिदेखि एक छाक मात्र खाएर शुद्ध भई बस्नुपर्ने, पशुपक्षीलाई छुन नहुने, जिब्रो छेडाउने एकदिन अघिदेखि श्रीमतीको अनुहार हेर्नसमेत नहुने चलन छ ।








