वैशाख ८,२०८१ / ०१ : २६ पूर्वान्ह / 2024-04-20 01:26 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज गौरा पर्व मनाइँदै, पर्वको अवसरमा सभापति देउवाद्वारा शुभकामना

      - ५ वर्ष अगाडि
      भाद्र १८,२०७५

      काठमाडौं, आज गौरा पर्व मनाइँदै छ, प्रदेश ७ को दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुरमा गौरा पर्व मनाइन्छ । गौरा पर्व भाद्र शुक्लको षष्ठी देखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइन्छ । 

      गौरापर्व मनाउने समुदायका महिलाहरूले पर्वको पहिलो दिन निराहार व्रत बसेर आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।

      धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । 

      यस्तै नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्  । उहाँले आज एक विज्ञप्तिमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरे । 

      विशेषगरी सुदूरपश्चिममा मनाइने यस्ता पर्व सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी शुभकामना दिए ।

        सम्बन्धित समाचारहरु