कठमाडौं, आज जनैपूर्णिमा, हिन्दु धर्मावलम्बीहरूले आज बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्।
रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ। बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ। वैदिक धर्मावलम्बीहरूले अध्ययन अध्यापन सुरु गर्ने दिन अर्थात् उपाकर्म पर्व पनि यसै दिन मनाउँछन्। आइतबार नै रक्षाबन्धन पनि गरिँदैछ।
विधिपूर्वक मन्त्रिई गुरु पुरोहितबाट हातमा बाँधिएको रक्षासूत्रले विभिन्न विपत्तिबाट बचाउने पुराणमा उल्लेख छ। तराईमा दिदीबहिनीले आफ्ना दाजुभाइका हातमा राखी बाँध्ने चलन पनि छ। काठमाडौं उपत्यका र पहाडी भेगमा नौथरी पौष्टिक गेडागुडी उमारेर पकाएर क्वाँटी खाने चलन छ। वर्षामा लागेको चिसो हटाएर शरीरमा ऊर्जा दिन क्वाँटी महत्त्वपूर्ण मानिन्छ।
जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्ड, काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, मुस्ताङको दामोदरकुण्ड लगायत तीर्थस्थलमा भक्तजनहरूको घुइँचो हुन्छ। पश्चिमका बडिमालिका, महावै र छायानाथलगायत तीर्थस्ठलमा पनि मेला लागेको छ।








