भाद्र १,२०७९ / ०५ : ०० पूर्वान्ह / 2022-08-17 05:00 am

        बोलबम धामअंकित चाँदीको सिक्का निष्काशन रोक्का

        - ४ वर्ष अगाडि
        श्रावण ९,२०७५

        बुटवल, रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामअंकित चाँदीको मुद्रा (सिक्का) निष्काशन रोक्का भएको छ । 

        मुद्रा निष्काशनका विषयमा कस्तो नीति निर्माण गर्ने भन्ने विषय निश्चित नभएका कारण यस वर्ष पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम अंकित चाँदीको मुद्रा रोक्का भएको नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले सातै प्रदेशमा ऐतिहासिक स्थानविशेषका मुद्रा निष्काशनका विषयमा छलफल भइरहेको उल्लेख गर्दै यस वर्ष रोकिए पनि सम्भवतः अर्को वर्ष निष्कासन हुने बताउनुभयो ।    

        पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम सञ्चालन समितिका अध्यक्ष रामवली चौधरीले मुद्रा निष्काशन भए पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गको ऐतिहासिक र पौराणिक महत्व बढ्ने तथा शिव ज्योतिर्लिङ्गप्रति मानवीय आस्था, विश्वास र आकर्षण बढ्ने बताउनुभयो । । 

        यसअघि २०७३ सालमा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्गअंकित हुलाक टिकट प्रकाशन भइसकेको छ । महादेवप्रति जलार्पण र अन्य सबै देवीदेवताप्रति रुद्राभिषेकका लागि प्रसिद्ध पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको धाम सरोवर १०८ शिवलिङ्ग र ५.५ फिटको शिव मूर्ति र नागकुण्ड छन् । पुजारी चन्द्र नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययनअनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वयं उत्पत्ति भएको ज्योतिर्लिङ्गको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा आरोग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहेको बताउनुभयो । 

          सम्बन्धित समाचारहरु