काठमाडौं, कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ९विष्णु० को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा ठुलो एकादशि पनि भनिन्छ । हुन त वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा त २६ वटा एकादशी पनि हुन्छन् ।
तर ती सबै एकादशीका तुलनामा यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रत सम्पन्न गर्ने परम्परा रही आएको छ । यसरी यी दुई एकादशीको विशेष महत्त्व छ । सामान्यतया सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने चर्चा विभिन्न धार्मिक ग्रन्थमा प्राप्त हुन्छ ।
यिनै पौराणिक मान्यता र आख्यानका आधारमा आषाढ महिनामा पर्ने ठूली एकादशीका दिन विष्णु क्षीरसागरमा पुगेर शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने ठूली एकादशीका दिन निद्रा त्यागी ब्युँझने कथा प्रसङ्ग बेग्लाबेग्लै धार्मिक ग्रन्थहरूमा उल्लेख भएकाले पनि यी एकादशीको महत्त्व चुलिएको पाइन्छ । हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।
आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ । हरिबोधिनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण ९चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण०लगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ । काठमाडौंका पशुपतिनाथ र बूढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो लाग्छ । उपत्यका बाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लाग्छ ।








