काठमाडौं, तिहारको तेस्रो दिन, आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर श्रद्धा, उत्साह र उज्यालोका साथ मनाइँदैछ । घर–घरमा दियो, बत्ती र रंगोलीले सजिएका आँगनहरूले आज नेपाली समाजमा प्रकाश र समृद्धिको प्रतीक बनेका छन् ।
आजको दिनलाई सम्पत्ति, सौभाग्य र शुभताको आराधना गर्ने विशेष दिनका रूपमा मनाइन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार र लक्ष्मी पूजा दीपमालिका परेको छ ।
आजको दिन सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । र साँझमा घरभरि दियो, बत्ती बाली लक्ष्मीपूजा गरिन्छ । जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्ने भन्दै लक्ष्मीपूजाको महिमा सुरु भएको धार्मिक विश्वासका आधारमा आजको दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीको पूजा दीपावली गर्ने परम्परा रहेको हो ।
लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ । घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिड्ने बाटो तयार गरिन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन छ ।
आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आजै साँझ लक्ष्मीपूजा गरेपछि केटाकेटी, युवति र महिलाहरु समुह–समुह बनाई घरघर गई हर्षोल्लास पूर्वक भैलो खेल्ने परम्परा छ । यसरी भैलोमाग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा, नैवेद्य रोटी दान स्वरुप दिने चलन छ ।
त्यति पाएपछि भैलेनी समुहले आशिष दिई लक्ष्मीधन्यको कामना गर्दछन् । तिहार झिलिमिलीबत्तीको चाड पनि भएकोले विशेषगरी लक्ष्मीपूजाका दिन हरेक घरमा झिलिमिली बत्ति बालिन्छ । आज साँझ रंगिविरंगी मैनवत्ती, बिजुलीबत्ती, प्याला बालेर घर झिलिमिली पारिने हुँदा यस अवसरलाई दिपावली पनि भनिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा यसरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भएमा वर्षभरि आर्थिक संकट नहुने धार्मिक जनविश्वास छ ।
लक्ष्मी पूजाको सुरुवातको कथा समुद्र मन्थन सँग जोडिएको छ । पौराणिक कथाअनुसार, देवता र दानवहरूले अमृत प्राप्तिका लागि समुद्र मन्थन गर्दा देवी लक्ष्मी समुद्रबाट प्रकट भएकी थिइन् । उनीसँगै धन, सौन्दर्य र समृद्धि पनि प्रकट भयो । त्यसपछि लक्ष्मीलाई विष्णुको अर्धाङ्गिनी मानेर धनकी देवीका रूपमा पूजिने परम्परा सुरु भयो । त्यही कारण कार्तिक महिनाको कृष्ण औँसीका रातमा, जुन रातलाई सबैभन्दा अँध्यारो रात भनिन्छ, मानिसहरूले देवी लक्ष्मीलाई घरमा आमन्त्रण गर्छन् — ताकि अन्धकार हटेर उज्यालो छाओस् भन्ने विश्वास रहँदै आएको छ ।








