काठमाडौं, भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवम् पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन छ । रजस्वलाका समयमा छोइछिटोलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमिको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले रजस्वलाको समयमा भएका दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुको भनाई छ ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो । रजस्वला भएका महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै समस्या हुने भएकाले आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस्तो समस्याबाट मुक्त भइने जनविश्वास छ ।
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्दछ ।








