जनकपुरधाम, जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।
त्रेतायुगमा भगवान राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप विवाह पञ्चमी मनाइने गरिन्छ ।
त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर १६ गतेबाट सुरु भएको विवाहपञ्चमी २२ गतेसम्म चल्ने छ ।
हिजो पहिलो दिन जानकी मन्दिरमा नगरदर्शन लिला सम्पन्न भएको थियो । भोलि मंसिर १८ गते धनुष यज्ञ, मंसिर १९ गते तिल्कोत्सव, मंसिर २० गते राम र जानकीको मटकोर र मंसिर २१ गते विवाहपञ्चमी रहेको छ । मंसिर २२ गते रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।