मंसिर २६,२०८१ / ०९ : १९ अपरान्ह / 2024-12-11 09:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ्य’ दिइँदै

      - १ महिना अगाडि
      कार्तिक २२,२०८१

      छठ पर्वको तेस्रो तथा मुख्य दिन आज बिहिबार साँझ श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई सँझिया अर्घ्य दिँदैे मनाउने गर्छन् । शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिवत रुपमा समापन हुन्छ । यस अवसरमा नदी, पोखरी, नहरलगायत जलाशयमा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको छ ।

      छठ पछिल्लो समय समावेशी पर्वको रुपमा विकास भइरहेको छ । यस पर्वमा डोम जातिले बनाउने ‘सुपली (कुनिया)देखि किसानको खेतमा उत्पादन ‘सुथनी’समेत प्रयोग हुन्छ ।

      छठ निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन निराहार व्रत बस्नुपर्छ । पानी पनि खान पाइँदैन । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ । दोस्रो दिन दिनभरि उपवास रही राति ‘खिर’ बनाइ देउतालाई चढाएर खाने गरिन्छ । यस विधिलाई ‘खरना’ भनिन्छ ।

      त्यस्तै मुख्य दिनमा ठेकुवा, भुसवाजस्ता कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ । अनि साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ ।

      छठ यस्तो पर्व हो, जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहानीपख उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइ पर्वको समापन गरिन्छ । अर्घ्य दिन हरारौं हात एकैचोटि सूर्यतिर फर्काएर नमन गरिन्छ । छठ पूजामा साँझको समयमा सूर्य देवतालाई प्रसादको रुपमा अर्घ्य अर्पण गरिन्छ । सोही प्रसाद पुनः बिहानको समयमा पनि अर्पण गर्ने लोक–परम्परा रहेको छ ।

      सूर्य देवतालाई अर्पण गरिएका प्रसादहरू साँझदेखि बिहानसम्म जलाशयस्थित घाटमा नै राखिन्छ । बिहानीको अर्घ्य दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास (व्रत) समाप्त गर्छन्, जसलाई ‘पारन’ भनिन्छ ।

        सम्बन्धित समाचारहरु