काठमाडौं, प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले मंगलबारदेखि तिहार सुरु भएको हो ।
बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यसवर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । यस दिनलाई धनतेरस पनि भनिन्छ । यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ ।
यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । धनतेरसमा सुनको विशेष महत्व हुन्छ । सुनलाई समृद्धिको प्रतीक मानिन्छ । यही महत्वलाई आत्मसाथ गरेर धनतेरसको अवसरमा सुन वा चाँदी किन्ने परम्परा लामो समय देखि चलिआएको छ । त्यसैले राष्ट्र बैंकले पनि धनतेरसलाई लक्षित गरी सुन र चाँदीका असर्फी बिक्री गर्दै आएको छ । सुन किन्न नसक्नेले चाँदी र चाँदी पनि किन्न नसक्नेले भाँडावर्तन भए पनि किन्ने गर्दछन् ।
यस दिन मानिसहरु तामा, पित्तलका भाँडा वा पूजाका थाली किनमेल गर्दछन् । त्यसैले आज बजारमा किनमेल गर्नेहरुको भिडभाड हुने गर्दछ । धनतेरसकै दिनदेखि यमदीपदान सुरु हुने गर्दछ । परिवारमा जतिजना सदस्यहरु छन्, तिनको नाम लिएर प्रत्येक दिन साँझमा दक्षिणतर्फ फर्केर यमदीपदान गर्ने परम्परा छ । यसो गर्नाले परिवारमा सुख, शान्ति र पारलौकिक सद्गति पनि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको ज्योतिषाचार्य एवम् वास्तुविद दुलालले बताएका छन् ।
आजै साँझदेखि झिलीमिली बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना सुरु गरिन्छ । तिथिको घटबढका कारण काग तिहार कात्तिक १४ गते बुधबार परेको छ । यस्तै कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले बताएको छ ।
कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन । गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा पनि यसैदिन परेको छ । कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको रहेको छ ।