प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारंभ हुने नेपालीको महान् पर्व बडादशैं आज देखि शुरु भएको छ । यस दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ ।
असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ । बिहीबारका दिन आज घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको थियो ।
नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ ।
आजैको दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।
यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।