शक्तिशालि पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् ।
ताप्लेजुङमा रहेकी पाथीभरा देवीको देश विदेशमा महिमा रहेको छ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवीको दर्शनका लागि देश विदेशबाट ठुलो संख्यामा दशनार्थी पुग्ने गर्छन् । पाथीभरा मन्दिर देवी भगवतीको पूजा स्थल हो र यो विशेष रूपमा शक्तिपीठको रूपमा मानिन्छ । यहाँ देवी पाथीभरा वा भगवतीको पूजा गरिन्छ । समुद्र सतहदेखि ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यस धार्मिक स्थल पुग्न त्यति सजिलो छैन तर जटिलताको सामना गरेर वर्षे नि हजारौँले दर्शन गर्ने गर्छन् । पाथीभरामा भदौ देखि मङ्सिर र फाल्गुन देखि जेठसम्म बढी मात्रमा दशनार्थी आउने गर्छन् ।
शक्तिशालि पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् । भनिन्छः– परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू हराए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयौं को संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दैनन् । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ ।
पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ“ भन्ने जनधारणा रहिआएको छ ।
पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन ।
पाथीभरा मन्दिरसम्म पुग्नको लागि ताप्लेजुङको प्रमुख नगरबाट यात्रा गर्नुपर्छ । ताप्लेजुङदेखि मन्दिरसम्मको यात्रा सामान्यतया हिँडेर, घोडा, वा स्थानीय सवारी साधनको प्रयोग गरेर गरिन्छ ।
भनिन्छ — यहाँ रहेको पाथीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबैभन्दा अग्लो (८’६“) भगवतिको प्रतिमा हो ।
यात्रा समृद्ध र चुनौतीपूर्ण हुन सक्छ, विशेषतः हिमाली र पहाडी क्षेत्रको कारणले । तर, यहाँको यात्रा प्राकृतिक सौन्दर्य र धार्मिक अनुभवको लागि विशेष आकर्षक मानिन्छ ।