असोज २८,२०८१ / ०८ : ४० पूर्वान्ह / 2024-10-14 08:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      रातो मच्छिन्द्रनाथको भोटो जात्रा : आज उपत्यकामा सार्वजनिक बिदा

      - एक हप्ता अगाडि
      श्रावण २०,२०८१

      काठमाडौँ । रातो मच्छिन्द्रनाथको भोटो जात्राले नेपाली सांस्कृतिक र धार्मिक परम्परामा अत्यन्तै महत्वपूर्ण स्थान राख्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्न गरिन्छ । यो जात्रा भूत र प्रेतलाई भोजन दिने उद्देश्यले आयोजना गरिन्छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन तर यसमा समर्पित धार्मिक र सांस्कृतिक भावनाहरूको अभिव्यक्ति पाइन्छ ।

      मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो र कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

      डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

      मनुष्यरुपी भूत आएर भोटो लग्यो त्यस भोटो किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि त्यहा विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

      आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।

      पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आज राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।    

        सम्बन्धित समाचारहरु