फागुन २२,२०८० / ०७ : ४९ अपरान्ह / 2024-03-05 07:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      झापाली महिला टोलीको साहस,दार्जिलिङ, सिक्किम पुगेर नौमती बाजा घन्काउँदै

      - एक हप्ता अगाडि
      पौष ७,२०८०

      झापा,भारतको दार्जिलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटक–पटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती ठाउँमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरूको मनोबल बढेको छ ।

      झापामा नौमती बाजा घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । तीमध्ये ुआर्ट स्टुडियो महिला नौमती बाजा को टोली भारतको सिक्किम, दार्जिलिङ र कोलकता पुग्न थालेको हो ।

      विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा अहिले बाक्लै देख्न पाइन्छ । बिर्तामोड नगरपालिका–२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो । 

      पाँच वर्षअघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि आफूलाई महिलाको अलग्गै टोली बनाउने रहर जागेको पौडेलले बताइन्। ‘त्यस बेला मेरो नेतृत्वमा गाउँका महिला नाटक खेल्ने गर्थे । रुवा र खरानीको धागोजस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गरेसँगै बिर्तामोडलगायत झापाका विभिन्न ठाउँमा नाटक मञ्चन गरेका थियौँ । पछि त्यही टोली महिला कलाकारका रूपमा परिचित बनेको थियो’, उनले भने ।

      त्यही टोलीलाई समेटेर शान्ताले नौमती बाजा बजाउने समूह खडा गरीन। आवश्यक तामिल लिएपछि बिर्तामोड–नं २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले टोलीलाई बाजा किन्न डेढ लाख रुपैयाँ बजेट दिनुभएको संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना काम भन्दै कनकाई नगरपालिकाले पनि बाजा किन्नका लागि ३० हजार रुपैयाँ थपिदिएको थियो । 

      केही नयाँ काम गरौँ भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिला मात्र रहेको पहिलो नौमती बाजा बजाउने टोलीको जन्म भयो । उनीहरुले टोलीलाई संस्थागत गर्दै ुआर्ट स्टुडियो महिला नौमती बाजा संस्था दर्ता गरीकी छिन् । पौडेलका अनुसार टोलीमा १४ जना सबै महिला सदस्य छन् । समूहमा नौमती बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा रहेको उनले जानकारी दिइन्।

      विभिन्न कार्यक्रममा समूहले निश्चित शुल्क लिएर बाजा बजाउँदै आएको पौडेलले बताइन् । उनका अनुसार अवधि र अवस्था हेरेर शुल्क निर्धारण हुन्छ । एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा दुई लाख रुपैयाँसम्म शुल्क पाउने गरेको संस्थाकी कोषाध्यक्ष गोमादेवी विमलीले जानकारी दिइन् । उनका अनुसार एउटा कार्यक्रमबापत टोलीले नेपालमा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । 

      भारतमा भने ५० हजार भारु शुल्क निर्धारण गरिएको विमलीले जानकारी दिइन् । ‘केही समयअघि जिल्लामा महिलाले नौमती बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जिलिङका एक जना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा बाजा बजाउने टोली झिकाएका थिए । ‘दार्जिलिङबाट कोलकातामा जन्ती जाँदा ५० हजार भारु दिने सहमति भएको थियो’, उनी भन्छिन्, ‘हामीले नौमती बजाएको मन पराएर  डेढ लाख भारु दिएका थिए ।’ 

      बाजा बजाउन आमन्त्रण गर्नेहरूले टोली र बाजा बोक्नका लागि गाडी भाडा बेहोर्ने गरेको विमलीको भनाइ थियो । उनका अनुसार काठमाण्डौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमती बाजा बजाएको थियो । त्यो बेला बाजा बजाएबापत एक लाख रुपैयाँ शुल्क दिइएको उनले जानकारी दिइन्। 

      भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमती बजाउन उनको टोलीलाई निमन्त्रणा गरेका थिए । तामाङले महिलाको नौलो र राम्रो काम भनेर प्रशंसा गर्दै एक लाख भारु पुरस्कार दिएका थिए । टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरीसमेत खेल्ने अवसर पाएको थियो ।

      संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमती बाजा बजाउन शुरु गर्दा आफू र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नुपरेको बताइन्। दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए पनि आफूहरूले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उनले अनुभव सुनाइन् ।

      ‘यस्तो बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यबाटै साथीहरूले अवहेलना भोग्नुपर्‍यो’, अध्यक्ष पौडेलले सङ्घर्षका दिन सम्झिँदै भनिन्, ‘शुरुमा कसैले पनि साथ दिएनन् । तथापि हामी पछाडि हटेनौँ । अहिले चाहिँ प्रशस्त आम्दानी र सामाजिकरूपमा प्रशंसा हुन थालेपछि परिवारका सदस्य खुशी छन् ।’

      टोलीका सदस्यहरूले घरको कामधन्धा छाडेर बाजा बजाउन जाने भएकाले सङ्कलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन् । दश प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आएको कोषाध्यक्ष विमलीले बताइन् । 

      लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमती टोलीलाई अचेल कार्यक्रममा भ्याइनभ्याइ छ । व्यावसायिकरूपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले प्रशस्त आम्दानीको स्रोत बनेको छ भने सामाजिकरूपमा पनि प्रशंसा हुन थालेको छ । यसरी महिलाले नौमती बजाएर कला, संस्कृतिको संरक्षण हुनुका साथै यस क्षेत्रको पहिचानमा योगदान पुगेको स्थानीय बताउँछन् । रासस

        सम्बन्धित समाचारहरु