काठमाडौं, गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ ।
साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरक फरक छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ।
सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।