मंसिर २०,२०७९ / १२ : १९ अपरान्ह / 2022-12-06 12:19 pm

        आज बाला चतुर्दशी, पितृको सम्झनामा सतबीज छरेर बाला चतुर्दशी मनाइँदै

        - एक हप्ता अगाडि
        मंसिर ६,२०७९

        काठमाडौं,आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन। हिन्दु धर्मावलम्बीहरूले मंसिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन्।

        आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ।

        त्यस्तै, शिवालयमा शतबीज छर्नाले मृतआत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले देशभरिका शिवालयहरूमा शतबिज छरेका छन्।

        काठमाडौंको पाशुपत क्षेत्रमा पनि भक्तजनहरूले शतबिज छरेका छन्। पाशुपत क्षेत्रमा पशुपति क्षेत्र विकास कोषले भक्तजनका लागि महाद्वीप बाल्न र शतबीज छर्न कैलाश र मृगस्थलीमा व्यवस्था मिलाएको थियो।

        सुरुमा सप्तबीज ९धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।

        यो पर्व सुरुवातबारे एक लोककथन अनुसार एक बाला नाम भएका असुर थिए । बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका थिए ।

        उनीहरूको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् ।

        एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । त्यसपछि उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।

        साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् ।

          सम्बन्धित समाचारहरु