मंसिर २०,२०७९ / ०१ : ३३ अपरान्ह / 2022-12-06 01:33 pm

        आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

        - १ महिना अगाडि
        कार्तिक १८,२०७९

        काठमाडौं, कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ ।

        सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँगै विवाह गरिदिने चलन छ ।

        एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा द्वादशीमा हवन गरी विसर्जन गरिन्छ । यसै दिन नवान्न (नयाँ अन्न) को हवन गर्ने नेपाली परम्परा छ ।

        आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्को नाम हरि हो । शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।

          सम्बन्धित समाचारहरु