मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ । विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नजिकैका साथीभाइ र आत्मीयजनले सकेको मदद गर्नेछन्, तर चाहनाबमोजिम छिटो कार्य सम्पन्न हुन कठिन छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । आकस्मिक रूपमा कुनै वस्तुको खरिद गर्दा अनायासै आर्थिक जोखिममा पर्न सकिन्छ, होस राख्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अहिलेको समय तपाईंको पक्षमा छैन । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीमा कमी आउने छैन । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ, संयम हुँदा जीत हुनेछ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ ।








