मंसिर २०,२०७९ / ०१ : ३९ अपरान्ह / 2022-12-06 01:39 pm

        हरि प्रसाद रिमालको छोटो जीवनी

        - ४ वर्ष अगाडि
        भाद्र १५,२०७५

        काठमान्डौ, वरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक हरि प्रसाद रिमालको निधन भएको छ । नाट्यकर्मीसमेत रहेका  रिमालको शुक्रबार विहान १ बजे निधन भएको हो । साहित्यकार गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनले फिल्म ‘आमा’ सँगै नाटकहरु सन्तान, मुकुन्द इन्दिरालगायतमा अभियन पनि गरेका थिए ।

        वि.सं. १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका हरिप्रसाद रिमाल नेपालका पहिलो गायकका रुपमा परिचित छन् । वि.सं. २००७ सालमा रेडियो नेपाल स्थापना भएपछि उनले उक्त रेडियोमा पहिलो पटक गीत गाएर इतिहास बनाएका हुन् ।  रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शंकर लामिछानेको रचनामा  ‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ भन्ने गीतको बोलमा संगीत र स्वर दिएका थिए  । २००७ साल चैत २० गते रेडियो प्रशारण भएको पहिलो दिन प्रत्यक्ष प्रशारणबाट आफ्नो सांगीतीक यात्रा गरेका उनको फगत एक नजरमा बोलको गीत चर्चामा छ । 

        उनका अन्य लोकप्रिय गीतहरू ‘बिना बादल असिना आउँदैन...’, ‘हातै काट्यो चालिसे चुराले...’ , ‘कल्लेकल्ले कैलेकैले डाक्छ मलाई...’–, ‘आँसु बहाऊँ...’ जस्ता धेरै गीतमा स्वर दिएका थिए । गीत–सङ्गीतमा सक्रिय रहँदारहँदै नाटककार बालकृष्ण समको सम्पर्कमा आएपछि भने गायक रिमाल नाटक–अभिनय र निर्देशनतर्फ मोडिएका थिए । 

        गायन, निर्देशन, संगीत र अभिनय सबैमा प्रतिभावान रिमाल बालकृष्ण समका चेला हुन ।  रिमालले  ‘भिमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा पनि अभिनय गरेका थिए । नेवारी भाषासमेत बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन पनि गर्ने गरेका थिए । गायनसँगै उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक) लाई शिखरमा पुर्याउने काम गरेका थिए । ९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनको निधनले नेपाली कलाकारिता क्षेत्रका अतुलनिय ब्यक्तित्व गुमाउनु परेको छ ।

          सम्बन्धित समाचारहरु