काठमाडौं, आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ ।
यसअघि २५ गते नेकपाले स्थायी कमिटी बैठक बोलाएको थियो तर अन्तिम समयमा बस्न सकेको थिएन । त्यसयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक(पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको सूचनासहित स्थायी समिति सदस्यहरुलाई बैठकमा बोलाइएको छ ।
नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि स्थायी कमिटीमा छलफल हुने जनाइएको छ । जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । यसैगरी वरिष्ठ नेता माधव नेपाल पक्षले एक व्यक्ति एक पदको नीतिमाथि जोड दिनेछन्।
स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न भन्दै २४ गते बसेको सचिवालय बैठकमा ओली स्वास्थ्यको कारण देखाउँदै उठेर हिँडेपछि बैठक अनिश्चित भएको थियो ।








