काठमाडौं , नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको छ। लकडाउनका कारण बन्द विश्वविद्यालय, कलेज र विद्यालयमध्ये केहीले अनलाइनमार्फत पठनपाठन गर्न थालेको भन्दै नेविसंघले विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा दिनुपर्ने माग गरेको हो।
आइतबार नेविसंघले नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई ज्ञापनपत्र बुझाउँदै निःशुल्क इन्टरनेटको माग गरेको हो।
संघले आज नेपाल टेलिकम र दुर सञ्चार प्राधिकरणलाई छुट्टाछुट्टै पत्र मार्फत सम्पूर्ण विश्व नै कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको बेला सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको भन्दै ध्यानाकर्षण पत्रसहित आफूहरुले माग राखेको नेबिसंघका महामन्त्री युवराज पाण्डेयले जानकारी दिएका छन ।
‘७० लाखभन्दा बढी विद्यार्थी यतिबेला प्रत्यक्ष मारमा परेको अवस्थामा तत्कालका लागि र दीगो रुपमा प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो,’ ज्ञापनपत्रमा भनिएकोछ, ‘यस परिस्थितिलाई सामना गर्न र विद्यार्थीलाई सिकाइको दायरामा ल्याउन अहिले उपयुक्त भनेकै अनलाईन शिक्षा भएकाले देशका सबै क्षेत्रमा इन्टरनेटको सहज पहुँच र गुणस्तरीय सुविधा दिनु आवश्यक छ।’
सँघले सबै नियमित अध्ययनरत विद्यार्थीहरुको विवरण सम्बन्धित संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीहरुको आइडी बनाई इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन नेविसंघले अनुरोध समेत गरेको छ ।








