सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको आन्तरिक किचलो सुल्झाउनको लागि आज नेकपा सचिवालय बैठक बस्दैछ।
हिजो दिनभरको शीर्ष नेताबीचको छलफलमा सुरुमा सचिवालय बैठक बोलाउने र सचिवालयको निर्णय अनुसार स्थायी कमिटीको बैठक बोलाउने सहमति बमोजिम सचिवालय बैठक बस्न लागेको हो।
हिजो अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपाल, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतम, प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल तथा प्रचण्ड र माधव नेपालको संयोजकत्वमा बनेको कार्यदलबीच छुट्टाछुट्टै छलफल भएको थियो। त्यसैगरी प्रमको निवास बालुवाटारमा नेताहरुबीच सामूहिक छलफल पनि भएको थियो।
८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको हो। पार्टीभित्रै चर्को विरोध भएपछि प्रम ओली ब्याक भएका छन् र १२ वैशााखमा दुवै अध्यादेश खारेज भएका छन्।








