काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ । छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरु पुगेका छन् । भोलिको सचिवालय बैठकले स्थायी कमिटि बैठकको मिति तोक्ने बताइएको छ ।
आज कोटेश्वरस्थित एक सरकारी भवनमा करिब तीन घण्टा बसेको बैठकमा कुनै ठोस सहमति भने जुट्न सकेन । बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको वान टु वान वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु दोस्रो वर्तामा बसेका थिए ।
बैठकमा नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान लिएपछि कुनै समहति जुट्न नसकेको हो । छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए । नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए ।








