काठमाण्डौ । पछिल्ला दिनमा एउटा घटना चर्चामा छ । जति चर्चामा छ त्यति नै रहस्यमय पनि देखिन्छ । जनता समाजवादी पार्टीका सांसद तथा पुर्व राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको भनिएको घटनाले यतिबेला नेपाली राजनीति वृत निकै तातेको छ । यो घटनालाई कतिपयले अपहरणको संज्ञा दिएका छन् भने अपहरण परेको भनिएका सांसद यादवले नै अपरहण नै गरेको भनिसकेका छैनन् ।
अपहरणमा संलग्न भनेर आरोप लागेका सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख सवेन्द्र खनालले पनि आपसी सहमतिमा सांसद यादवलाई महोत्तरीबाट काठमाण्डौ ल्याइएको दावी गरिरहेका छन् । तर यो घटनालाई सामान्य रुपमा लिन भने कसैले पनि सकेका छैनन् । सांसद यादवलाई उनको महोत्तरीस्थित घरबाट रातारात काठमाण्डौ ल्याएको कुरा भने सबैले स्वीकारिसकेका छन् ।
यो घटना किन रहस्यमय मान्न सकिन्छ भने पूर्व राज्यमन्त्री तथा बाहालवाला सांसदलाई काठमाण्डौ आउनका लागि पूर्व प्रहरी प्रमुख र दुई जना सांसदको सहयोग आवश्यक कसरी भयो ? अझै रहस्य त के छ भने प्रधानमन्त्री केपी ओलीलाई भेटाउनका लागि भनेर रातारात काठमाण्डौ ल्याइएको थियो । त्यो पनि सांसद यादवको पार्टी समाजवादी पार्टी नेपाल विभाजन गर्नका लागि ।
यसअर्थमा यो घटनामा प्रधानमन्त्री ओलीसमेत जोडिएका छन् । आफूलाई महोत्तरीदेखि काठमाण्डौको एक होटलमा ल्याउन भूमिका खेलेका सांसदद्धय बस्नेत र श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख खनालले झुक्याएर ल्याएको भने यादवले बताइसकेका छन् । पछिल्ला दिनमा यादल आफू असुरक्षित भएको महसुश गरेकोसमेत बताउन थालेका छन् ।
सांसद यादवलाई वैशाखमा १० गते रातारात उनको घरबाटै काठमाडौं सम्म ल्याइएको थियो । घटनमा संलग्न भएको स्वीकार गरिसकेका सांसदद्धय बस्नेत र श्रेष्ठले भने आफूहरुले यादवलाई साथीको रुपमा भेटेको र यादवले नै प्रधानमन्त्रीसँग् भेट्न चाहेकाले सहयोग मात्रै गरेको दावी गरेका छन् । उनीहरुले समाजवादी पार्टीभित्र विवाद भएको र असन्तुष्ट सांसदहरुले पार्टी विभाजन गर्न चाहेकाले सहयोग गरेको पनि भनिसकेका छन् । यसअर्थमा सत्तारुढ दल नेकपाले समाजवादी पार्टी फुटाउनलाई सांसदद्ध बस्नेत र श्रेष्ठलाई प्रयोग गरेको बुझ्न त्यति गाह्रो छैन ।
घटनालाई अपहरण भन्ने कि जबरजस्ती भन्ने ? वा दबाबमा सांसदलाई काठमाण्डौ ल्याइएको भन्ने ? यो घटनामा संलग्न सांसदहरु र पूर्व प्रहरी प्रमुखको नियत के थियो ? प्रधानमन्त्री ओलीको भूमिका कस्तो हो ? यस्ता प्रश्नहरु भने उब्जिएको छ । यो घटनाको चौतर्फी विरोध भइरहेको छ । छानविनको माग गर्न पनि आवाज उठिरहेको छ । त्यसैले प्रधानमन्त्रीको समेत नाम जोडिएको घटनाको सत्यतथ्य छानविन हुनु भने अनिवार्य देखिन्छ ।








