लक डाउनकै बीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्यो । बैठले सरकारलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउनुका साथै चेतावनी पनि दिएको छ । राहत वितरणमा अनियमितिता भएकोदेखि स्वास्थ्य सामग्री खरिद प्रकरणसम्मका विषयमा कांग्रेसले सरकारलाई सचेत गराएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको भन्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको आरोप लगाएको हो ।
कांग्रेस पदाधिकारीको शनिबार बसेको बैठकले राहत वितरण न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गरेको छ । बैठकले पैदल गाउँ गइरहेका नागरिक र राहत, परीक्षण र स्वास्थ्य उपचार, स्वास्थ सामग्रीको अभाव र अनियमितता, विदेशमा रहेका नेपाली, अत्यावश्यक खाद्यान्न उत्पादन र कृषकलाई राहतका विषयमा विभिन्न १६ निर्णय गरेको छ । विभिन्न स्थानीय तहबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न कांग्रेसले माग गरेको छ । केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत लक्षित समूहसम्म नपुगेकोले द्रुत गतिमा राहत र्पुयाउन पनि कांग्रेसले सरकारलाई आपिल गरेको छ ।
सरकारले राहत स्वरुप बैंकको व्याज मिनाहा गर्न सकिनेहरुको मिनाहा गर्न र न्यून गर्न सकिनेहरुको हकमा कम गर्न पनि कांग्रेसले माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले अफ्ठ्यारोमा परेका नागरिकहरुका लागि सुरक्षित ढंगले जाने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै बाटोमा रहेका नागरिकलाई भोको पर्न नदिन आफ्ना कार्यकर्ताहरुलाई अपिल गरेको छ । यसैगरी विदेशमा रहेका श्रमिक र विद्यार्थीहरुलाई पर्याप्त राहत नपुगेको विवरण सरकार समक्ष पेशगरी ध्यानाकर्षण गराउने र कुटनीतिक पहलका लागि आग्रह गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी बैठकले गरेको छ ।
लामो समयदेखि भारतको धारचुलालगायत अन्य सीमा नाकामा रहेका नागरिकलाई प्रवेश नदिएको घटनालाई गम्भीर रुपमा लिएको बताउँदै कांग्रेसले उच्च मानवीय भावनाका साथ देश प्रवेश गर्ने वातावरण मिलाएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न माग गरेको छ । घुम्ती परीक्षण सुरु गरी कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि कांग्रेसले आग्रह गरेको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको बीचमा आवश्यक समन्वय गरी कोरोनाबाहेक अन्य रोगका विरामीको अवस्थालाई ध्यान दिन पनि कांग्रेसले आग्रह गरेको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा अझै कारवाही प्रक्रिया अगाडि नबढाएको विषयमा पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, ब्यवसायी एवं अप्ठ्यारोमा परेका सबैको सुरक्षा र राहतका लागि कुटनैतिक पहल बढाउन सरकारलाई आग्रह गर्दै नेपाली दूतावासहरुलाई नेपालीको हितमा बिशेष सक्रियता बढाउन अपिल गरेको छ । अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्न आवश्यक अध्ययन र तयारी शुरु गर्न बैठकले सरकारलाई आग्रह गर्दै देशभित्र गर्नुपर्ने व्यवस्थापनको पूर्वतयारीमा ढिलाइ नगर्न पनि सजग गराएको
छ ।








