काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ।
शनिबार राति भएकाे १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्। सहमति अनुसार पार्टी एकताको घोषणा यही फागुन २८ गते हुनेछ।
जनताले राष्ट्रियता र प्रजातन्त्रको धरातलमा खडा भएको राजनीतिक शक्तिको उपस्थिति खोजेकाले पार्टी एकता गरेको नेताहरूले बताएका छन्।
सहमतिमा एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहने उल्लेख छ। यस्तै, पार्टीमा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन अध्यक्ष रहनेछन्।
पार्टीले पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रूपमा राजसंस्था रहनेलगायत नीति र सिद्धान्त लिएको छ।
यस्तै, आगामी डेढ वर्षभित्र महाधिवेशन गर्ने सहमतिमा उल्लेख छ। त्यसबेलासम्म पार्टीको दैनिक कार्यसञ्चालनका लागि तीन अध्यक्ष रहने निर्देशक समिति बनाइने सहमतिमा उल्लेख छ।








