काठमाडौं, डेढ वर्षको कसरतपछि नेकपा नेता वामदेव गौतम ‘मनोनीत सांसद’का रूपमा संसद प्रवेश गर्न तयार भएका छन् । उनी मनोनीत अर्थमन्त्री युवराज खतिवडालाई प्रतिस्थापन गर्दै राष्ट्रिय सभामा प्रवेश गर्न सहमत भएका हुन् ।
अर्थमन्त्री खडिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ । नेकपाको शनिवार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई लैजाने सहमति भएको हो ।
यसअघि नेता गौतमले राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राख्दै आएका थिए । प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।
नेकपा उच्च स्रोतका अनुसार अनुकूल परिस्थितिमा संविधान संशोधन गर्ने प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताको आश्वासनपछि गौतमले आफ्नो पुरानो अडान छाडेका हुन् ।
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेर पार्टी सहमतिको जानकारी गराइसकेका छन् । शनिबार सचिवालय बैठकलगत्तै पहिला प्रचण्ड र त्यसपछि प्रधानमन्त्री ओली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।








