प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
बहुमतको दम्भमा मातेको सरकार संघीयता र जनता विरोधीबाहेक अन्य कुनै काम गर्न नसकेको उनको आरोप छ।
सर्लाहीको धनकौल गाउँपालिकामा शनिबार आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपसभापति निधिले बहुमतको दम्भमा केपी ओली नेतृत्वको सरकार संविधान मासेर मुलुकमा तानाशाही लाद्न खोजी रहेको आरोप लगाए।
हजारौंं जनताको बलिदानीपछि संघीयता र गणतन्त्र सुनिश्चित गर्ने गरी बनाइएको संविधान कम्युनिस्ट नेतृत्वको सरकारले अन्त्य गर्ने षड्यन्त्र गरिरहेको निधिले बताए।
संविधानले संघीयता र गणतन्त्र सुनिश्चित गरेपनि अझ मजबुत बनाउन थप संशोधनको आवश्यकता रहेको उनको भनाइ थियो।








