काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका जिल्ला नेता हरिदेव गिरीको रहस्मय मृत्यु भएको छ । नयाँ बानेश्वरको आलोक नगरमा रहेको डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा उनको मृत्यु भएको हो ।
रेष्टुरेन्टमा रक्ताम्मे र बेहोस अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई हेर्ने वित्तिकै मृत घोषित गरेको बानेश्वर वृतका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन ।
उनका अनुसार घटना मंगलबार राति भएको हो । प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । कसैले हत्या नै गरेको हो वा अन्य कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी रेग्मीले जानकारी दिएका छन ।
रेष्टुरेन्टन सञ्चालकको दाबीलाई उधृत गर्दै प्रहरीले जनाए अनुसार नेता गिरीले रेष्टुरेन्टमा अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । रक्सीको नशामा रहेका उनी भर्याङबाट झर्ने क्रममा लडेका थिए । तर, प्रहरीले रेस्टुरेन्ट सञ्चालकको दाबी पत्याउन सकिने अवस्था नभएको भन्दै अनुसन्धानलाई तिब्रता दिएको छ ।
प्रहरीले घटनका विषयमा अनुसन्धान गर्न ४ जनालाई नियन्त्रणमा लिइएको छ । घटना भएका बेला रेस्टुरेन्टमा रहेका होटल सञ्चालक र कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बानेश्वर वृत्तका डीएसपी रेग्मीले जानकारी दिए ।
गिरि दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।








