जनकपुरधाम, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खल्तीमा अख्तियारी बोकेर नहिँड्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मौखिक अख्तियारीकै भरमा कतिपय कामहरु भइरहेको भन्दै राउतले यसो नगर्न निर्देशन दिएका हुन्।
मंगलबार प्रदेशसभाको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री राउतले कतिपय मन्त्रीज्यूहरु मौखिक अख्तियारीकै भरमा काम गराइरहेको र यसले कसैको भलो नगरने बताएका हुन ।
उपभोक्ताहरुको पछिल्लो आर्थिक वर्षको भुक्तानीमा फसेका मुख्यमन्त्री राउतले मन्त्री र प्रदेशसभा सदस्यहरुकै कारण यस्तो समस्या आएको जिकिर गरे। मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई प्रतिपक्षीहरुले गरेको सहयोगप्रति धन्यवाद दिँदै भने, ‘प्रतिपक्षी दलले सकारात्मक भूमिका निर्वाह गरेको छ। हामीभित्रै केही कमीकमजोरी देखिएकोले कलंकित हुने अवस्था उत्पन्न भएको छ, आगामी दिनमा कमीकमजोरी सच्याएर अघि बढिन्छ।’








